News Griha :: न्यूजगृह
वर्षाका कारण नेपाल र थाइल्यान्डबीचको खेल रद्द

काठमाडौं— नेपाल र थाइल्यान्डको महिला टोलीबीच सोमबार भएको टी–२० अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ ।

मलेसियाको बायोमास रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो ।

थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन् । नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डंगोल, इन्दु बर्माले समान एक/एक विकेट झारेका थिए ।

उक्त विजयी लक्ष्य पछ्याएको नेपालले ३ बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो । सीता रानामगर शून्यमा रन आउट भएकी थिइन् । नेपाल र थाइल्यान्डले आईसीसी महिला विश्वकप टी–२० एसिया क्षेत्र छनोट अघि खेलको उक्त अभ्यास खेल खेलेको हो ।

एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ । एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ । नेपालको समूह ए मा परेको छ ।

नेपालको समूहमा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रतियोगितामा फाइनल पुग्ने २ टोलीले २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खल्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:२९
Weather Update