काठमाडौं— नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ ।
यसैबीच लामिछाने सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन् । पाकिस्तान जानुअघि पत्रकारसँग उनले भने, ‘टिम चाहिँ राम्रो पर्फमेन्स गरिरहेको छ पाकिस्तानमा, म पनि यहाँ आफ्नो तर्फबाट प्राटिक्स गरिरहेको छु, खेल्नका लागि रेडी पनि छु ।’
यसैबीच उनले एसिया कपमा भारत र पाकिस्तानसँग राम्रो खेल्न सकिने भन्दै आशावादी रहेको बताए । ‘एकदम आशा छ कि हामी एसिया कपमा एकदम राम्रो गर्ने छौँ,’ उनले भने,‘टफ टाइम भइरहेको छ लाइफमा,टिमसँग प्राटिक्स गर्न नपाए पनि एक्लै गरिरहेको छु ।’
एसिया कप खेल्न पाउनु नै सबै नेपालीहरूका लागि गर्वको कुरा भएको उनको भनाइ थियो । ‘यो खेलमा हारजित भन्दा पनि सिक्नका लागि नेपाली टिमका लागि महत्वपूर्ण छ,’ उनले भने ।
सन्दीपविरुद्धको मुद्दाको आइतबार सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् । एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले आगामी बुधबार पाकिस्तान र भदौ १८ गते श्रीलंकाको क्याण्डीमा भारतसँग खेल्ने छ ।