काठमाडौं— कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो ।
नेपाल चलचित्र कलाकार संघको संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उनको पार्थिव शरीरलाई कलाकार, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जलि दिएका थिए ।
कलाकार ताम्राकारको ७४ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार मृत्यु भएको थियो । कलाकार संघका पूर्वकार्यवाहक अध्यक्षसमेत रहेका कलाकार ताम्राकारलाई कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो । संघका अध्यक्ष मोहन निरौलाले कलाकार ताम्राकारको मृत्युबाट आफू मर्माहत भएको बताए ।
उनले भने, ‘विगत २८ दिनदेखि उपचाररत हामीमाझ रहनुभएन । उहाँको काम र कलाकारितासँगै चलचित्र क्षेत्रमा दिनुभएको योगदान हामीमाझ रहिरहने छ ।’ मिर्गौलासम्बन्धी रोगले पीडित कलाकार ताम्राकारले गत असार २१ गते छोरा तथा अभिनेता सारुकको मृत्यु भएपछि पुत्रवियोगसमेत खेपेका थिए ।
उनलाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाललगायतका कलाकर्मी आर्यघाट पुगेका थिए । ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारकी श्रीमती रुकमणी ताम्राकार हुन् ।