
काठमाडौं— छोरा गुमाएको चिन्तामा विरामी भएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले ताम्राकारको शनिबार दिउँसो ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पुष्टि गरे ।
ताम्राकार साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।
गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भुँइमान्छे, मेरी मामु’लगायतका फिल्ममा काम गरेका वरिष्ठ कलाकार ताम्राकारले थुप्रै सिरियलमा अभिनय गरेका छन् ।
तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका उनी नेपाली सिने जगतमा सफल खलनायकको रुपमा परिचित छन् ।