
काठमाडौं— चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।
मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ बनायो । १०२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो ।
इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् । त्यसअघि काजल श्रेष्ठ भने रन नबनाइकन आउट भइन् । वर्षा अत्यधिक भएपछि खेल पुनः सुरु हुन नसकेपछि नेपाललाई विजयी घोषित गरिएको हो ।
यसअघि हङकङका लागि ब्याटिङ गर्दै याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन् । फाइनल खेलको प्लेयर अफ दी म्याच नेपालकी खुशी डंगोल भइन् ।