
काठमाडौं— जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा लागू छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेकी हुन् । धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी निषेध आज्ञा जारी गरिएको हो ।
यो पनि पढ्नुहोस
धरानमा निषेधाज्ञा जारी
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरापालिका १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ बाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका २० तरहरापानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु सङ्क्रमण फैलिई १६,००० जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण पनि गराएको छ ।‘धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५,००० जना व्यक्तिमा सङ्क्रमण फैलिएको अवस्था छ ।
यो पनि पढ्नुहोस
धरानमा २४ घण्टाका लागि निषेधाज्ञा
सामाजिक सद्भाव कायम राख्न अपिल
धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ,’ धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा भनिएको छ ।
यस्तै भदौ ९ गते आयोजना गर्न लागिएका पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गर्न पनि सबै पक्षलाई बैठकले अपिल गरेको छ । ‘परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरू पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा हार्दिक अपिल गर्दछौँ । साथै सम्बन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ ।
यो पनि पढ्नुहोस
धरानमा सद्भाव कायम राख्ने सर्वदलीय बैठकको निर्णय
अपिलमा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा,रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेससपा,राजमुपा,किखसपा, विवेकशील साझा पार्टीलगायतले हस्ताक्षर गरेका छन् ।
यसैबीच प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले पनि भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगित गरेर सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेको छ । संघर्ष समितिमा आबद्ध विभिन्न पाँच जातीय संस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भदौ ९ गते हिन्दु धर्मावलम्बीहरू धरानमा सहभागी भई जनप्रदर्शन गर्ने भनी सामाजिक सञ्जालमा गरिएको आव्हान र अर्को पक्षद्वारा त्यसको प्रतिकार गर्ने भनी गरिएको प्रचारप्रसारले नेपालको बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भावलाई बिथोल्न सक्ने र जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने भएकोले सबै पक्ष जिम्मेवार र संवेदनशील हुन अपिल गरिएको छ ।













