
काठमाडौं— धरान उपमहानगरको सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गर्दै एकआपसमा भातृत्व, सहिष्णुता तथा सद्भाव कायम गर्ने निर्णय गरेको छ ।
यसैबीच बैठकले भदौ ९ गते शनिबार धरानमा तय गरिएको सबै कार्यक्रम स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
सर्वदलीय बैठकपछि जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सद्भाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौं ।’
यसैबीच प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डे विज्ञप्ति जारी गर्दै धरानमा २४ घन्टाका लागि निषेधाज्ञा गरेको जानकारी दिएकी छन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभर डेंगी रोगका संक्रमण व्यापक फैलिएर १६ हजारभन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयले भदौ ८ गते राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको जनाएको छ ।