
काठमाडौं— चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि पहिलो ब्याटिङ गरेको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रन बनाएका थिए । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।
जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।
यस्तै, मलेसिया पहिलो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–२० सिरिज खेलिरहेका छन् । अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।