
काठमाडौं— गाईजात्रा नजिकिएसँगै कलाकार जीतु नेपालले दर्शकहरूका लागि ‘जितुको हास्यव्यङ्ग्य गाईजात्रा–२०८०’ ल्याउने भएका छन् । उनले स्टेज तथा डिजिटल प्लेटफर्ममार्फत गाईजात्रा प्रस्तुति दिने भएका हुन् ।
स्टेज कार्यक्रमका रुपमा उनी केही कमेडी साथीहरूसँग मिलेर ‘रुस्लान कमेडी यात्रा’ र डिजिटलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा–२०८०’ नामक कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
‘रुस्लान कमेडी यात्रा’ भदौ १४ गतेपछि सुरु हुनेछ । ‘जितुको हास्यव्यंग्य गाईजात्रा–२०८०’ भदौ ७ देखि २० गतेसम्म आफ्नो युट्युब च्यानलबाट दिनको आधा घण्टाको कार्यक्रम ल्याएका छन् ।
‘जितुको हास्यव्यंग्य गाईजात्रा–२०८०’ मा जितुको अलवा सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा (नक्कल हिसिला), एलिना बास्कोटालगायत कलाकारले प्रस्तुति दिने भएका छन् ।