
काठमाडौं— नेपाल राष्ट्रिय क्रिकेट टोली यतिबेला पाकिस्तानमा छ । एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली पाकिस्तान पुगेको हो ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टोली घोषणा गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा मोन्टी देसाई प्रमुख प्रशिक्षक छन् ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक देसाई भारतीय नागरिक हुन् । उनी २०७९ माघ तेस्रो साता नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका हुन् ।
एसिया कप प्रतियोगितामा समूह ‘ए’मा नेपाल र भारत रहेको छ । यस्तो अवस्थामा प्रशिक्षक देसाई आफ्नै देश भारतविरुद्ध उत्रिने भएका छन् ।
पाकिस्तान पुगेपछि देसाईले नेपालले पाकिस्तान र भारतसँग राम्रो खेल खेल्ने अभिव्यक्ति दिइसकेका छन् । आफ्नै देश भारतविरुद्ध नेपाली खेलाडी मैदानमा हुँदा देसाईले नेपालको पक्षमा खुलेर लाग्नु पर्ने छ ।
नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहेका छन् ।
यसैगरी, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलीमा रहेका छन् ।