
काठमाडौं— मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले शुक्रबार घरेलु टोलीसँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
सिरिजको २ खेल जितेको नेपाल ४ अंकसहित फाइनल नजिक पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने बुधबार भएको दोस्रो खेलमा कुवेतलाई हराएको हो । शुक्रबारको खेलमा जित निकालेमा शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्नेछ ।
मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ । नेपाल शीर्ष २ मा रहेमा शनिबार फाइनल खेल्नेछ । पुछारमा रहने २ टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।
नेपालले एसिया क्षेत्र छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म ) मा मलेसियामा नै खेल्नेछ ।प्रतियोगितामा ११ टोलीको सहभागीता रहनेछ । नेपालको समूहमा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।
शीर्ष २ टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टोलीले २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगस्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।
३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा यूएईसँग खेल्नेछ ।