सारुक ताम्राकारको अन्तिम काम समेटिएको म्युजिक भिडिओ सार्वजनिक
काठमाडौं— दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडिओ बिहीबार सार्वजनिक गरिएको छ ।
निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताए ।
उनले भने,‘हामीले चलचित्र पूरा गर्न सकेनौं । तर,उहाँको अन्तिम कामलाई म्युजिक भिडिओकै माध्यमले भए पनि बाहिर ल्याएका छौँ ।’
भिडिओमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिए ।
कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठलगायत उपस्थित थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०६:२६