
बागलुङ— गीत संगीत क्षेत्रमा हालै एकाएक चर्चामा आएको नाम हो, सिम्रन परियार । १८ वर्षीया उनले एक हप्तामै १४ गीत रेकर्ड गराइन । अधिकांश गीतले चर्चा कमाएको छ ।
‘मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत उनको चर्चित गीत बनेको छ । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले सबैको ध्यान तानेको छ ।
‘गायनसँगै पढाइलाई निरन्तरता दिन काठमाडौंबाट बागलुङ फर्केकी छु,’ उनले भनिन्, ‘विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने छु ।’
परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत चर्चामा छ । गायक प्रमोद खरेलसँगको स्वरको ‘उसलाई पाउन २’को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।
सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै ३० हजार नगदसहित सम्मान गरेको छ ।
भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन् । उनको स्वर धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् ।
उनले ‘फूलथुङे रानी...’, ‘नाता टुट्यो पराइ भइगयो...’, ‘तिम्रो नै माया लाग्दछ साइँला...’, ‘फोटो फिरेममा...’, जस्ता बोलका गीत गाएकी छन् ।
‘मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनु भएको हो,’ उनले भनिन् । गायक प्रमोद खरेलको गीत आफूलाई औधी मन पर्ने उनको भनाइ छ ।
‘खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ,’ उनले थपिन् । खरेलले सांगीतिक शिक्षा लिन आग्रह गरेको उनले सुनाइन् । गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिएका छन् ।