News Griha :: न्यूजगृह
१९औं एसियाली खेलकुद : रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा

काठमाडौं— चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स पनि रहेका छन् ।

हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टाेलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा यूएई, चीन र अफ्गानिस्तान छन् ।

रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसैदिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ ।

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्राे खेल हङकङ चाइनाविरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदै छ ।

एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन् ।

नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:३९
Weather Update