News Griha :: न्यूजगृह
यी २ चलचित्र एउटै मितिमा प्रदर्शन हुँदै, के भन्छन् अभिनेता भुसाल ?

काठमाडौं— नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने ।

चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिंगेदाउ’व्यावसायिक रुपमा सफल भयो ।

‘पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्यांकन गरिदियो । यी २ वटै चलचित्रमार्फत मभित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ’,अभिनेता मुकुन भुसालले भने,‘रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले  २ वटै चलचित्रमा काम गर्नुपर्छ ।’

२ चलचित्रमार्फत फरकरुपमा सफलता पाएका अभिनेता भुसालले अभिनय गरेको ‘ऐँचो पैँचो’ र ‘गणपति’ २ चलचित्र एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ । २ चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता भुसाल भने समान हुन् ।

‘मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो’,अभिनेता भुसालले भने, ‘एकै दिन २ चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा २ चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।’

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २१:४०
Weather Update