
काठमाडौं— हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो ।
चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् ।
हङकङले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।
बलिङतर्फ नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै १६ रन खर्चेकी थिइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक–एक विकेट लिए ।