
काठमाडौं— नेपालले ४ देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मंगलबार हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११:४५ देखि मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि मलेसिया, हङकङ र कुवेतसँग सिरिज खेलिरहेको हो ।
सिरिजमा नेपालले २३ अगस्टमा कुवेत र २५ अगस्टमा मलेसियाको सामना गर्नेछ । सिरिजपछि नेपालले २८ अगस्टमा थाइल्याण्डसँग अभ्यास खेल खेल्ने तालिका छ ।
एसिया क्षेत्र छनोट ३१ अगस्टदेखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुँदैछ । नेपाल रहेको समूहमा यूएई, कतार, मलेसिया, भुटान र बहराइन तथा समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टिमले आउँदो वर्षको टी–२० विश्वकप खेल्न पाउनेछन् ।
विश्वकप छनोटका लागि नेपालको टिममा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का रहेका छन् ।
त्यसैगरी ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुसी डंगोल पनि टिममा छन् ।