News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका २ एसएसपीको सरुवा

काठमाडौं— गृहमन्त्रालयले महत्त्वपूर्ण स्थानका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

गृहले सोमबार चारजना एसएसपीको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीको जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।

त्यस्तै सुरक्षा परिषद् सचिवालयमा रहेका सोमेन्द्रसिंह राठोरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौं परिसर प्रमुख दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई हेडक्वार्टर तानिएको छ ।

एसएसपी कार्की र केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व गरिरहेका अधिकृत हुन् । यसअघि सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको सरुवा गरेको थियो । 

प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यवस्था छ । 

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरूलाई हटाउन सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको दबाब थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:४७
Weather Update