News Griha :: न्यूजगृह
बालसुधार गृहमा झडप, ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते [अपडेट]

भक्तपुर— भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन्

सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो सङ्ख्यामा बन्दीहरू भाला, खुकुरी लगायतका हतियार बोकेर प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा ६ जना बन्दी र प्रहरी निरीक्षक सञ्जीव ओलीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका हुन् । ओलीको अहिले मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

यस्तै घाइते बन्दीमध्ये एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । अन्यलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ । भाग्नेमध्येका ८४ जना बन्दीलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । आइतबार सुधार गृहमा एक जनाको मृत्यु भएपछि त्यहाँ मृतकका आफन्तले आइतबार नै प्रदर्शन गरेका थिए ।

भित्र रहेका अन्य अधिकांश बालबालिकाले पनि सोमबार प्रदर्शनकारीलाई साथ दिँदै तोडफोड गरी भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:१९
Weather Update