
काठमाडौं— भक्तपुरको बालसुधार गृहमा गोली चलेको छ ।
सोमबार सुधार गृहमा भएका बन्दीहरूले प्रहरीमाथि आक्रमण गरी मूलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् । घाइते बन्दीमध्ये एकजना गम्भीर छन् । दुई जनाको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेको नागरिक अस्पतालमा उपचार भइरहेको छ । सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछापको मन्थली नगरपालिका— ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । सोही क्रममा सुधार गृहभित्रका बन्दीहरूले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
यसैक्रममा भित्रका बन्दीहरू सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । बन्दीहरूले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए । उनीहरूले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् ।
सुधार गृहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिइरहेका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरू भने त्यही भित्र रहेका छन् । यसैगरी प्रहरीले फरार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमीमा राखिएको छ ।