
काठमाडौं— घरेलु टीम अस्ट्रेलियाविरुद्ध २–० को जित निकाल्दै स्वीडेनले फिफा महिला विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ ।
शनिबार ब्रिसबेनस्थित सनक्रप रङ्गशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिनारोल्फो र कोसोभारेएस्लानीले गोल गरे । खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । यसपछि दुवै टिमबाट थप गोल भएन ।
स्वीडेन लगातार दोस्रोपटक विश्वकपमा तेस्रो भएको हो । सन् १९९१ देखि विश्वकपका सबै संस्करण खेलेको स्वीडेनले हालसम्म उपाधि चुम्न सकेको छैन । एकपटक उपविजेता र तीनपटक तेस्रो भएको थियो ।
स्वीडेन जारी संस्करणमा समूह ‘जी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । स्वीडेनले प्रिक्वार्टरफाइनलमा साविक विजेता समेत रहेको अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध बनाएको थियो । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।
जारी विश्वकपको फाइनल खेल आइतबार हुनेछ । अस्ट्रेलिया रङ्गशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् ।