News Griha :: न्यूजगृह
सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई 

बारा— सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेडले जितेको छ । शनिबार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किक मार्फत् गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे । जुन गोल नै चर्चलाई सिमरा गोल्डकपमा प्रवेश गरेको पहिलोपटक नै उपाधि जितका लागि काफी भयो ।

सो खेलको छैटौँ मिनेटमा नै हिमालयन शेर्पा दश खेलाडीमा सिमित हुन परेको थियो । शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर दिनेश उराव रातो कार्ड पाएर बाहिरिएका थिए ।  

उपाधिसँगै चर्च ब्वाईजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षकको उपापधि प्रदीप हुमागाईंले पाउन सफल भए ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०८:२८
Weather Update