
काठमाडौं— चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाँदै छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले शुक्रबार नै लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान),मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारू, जयन्ती बडु, अर्पणा चौधरी, गङ्गा चौधरी, इशा राई र कलावती पन्त छन् ।
प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाए । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले जानकारी दिए ।