
काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ३० वटा फेसबुक आईडी ह्याक गरी पैसा मागेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगर–१७ रामनगर घर भई काठमाडौं नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगर–१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेको उक्त समूहले हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी ह्याक गरी त्यसबाट १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् । विभिन्न व्यक्तिका फेसबुक आईडी ह्याक गरेर उनीहरूले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाएर ठगी गरेका थिए ।
त्यसमा सीमान्तले आईडी ह्याक गर्ने गर्थे भने अमन्तले विभिन्न बहानामा रकम माग गर्ने, शुभेच्छा तथा अनुपले वालेटमा आएको रकम झिक्ने र रोहनले उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
यो पनि पढ्नुहोस
फेसबुक आईडी ह्याक गरेर रकम ठगी गर्ने ५ पक्राउ
पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।