
लन्डन— यूईएफएले सिजन २०२२/०२३ मा उत्कृष्ट प्रदर्शन गरेको आधारमा मेस्सी, एर्लिङ हालान्ड र केभिन डी ब्रुयनालाई अन्तिम ३ खेलाडीमा छनोट गरेको छ । उनीहरू ‘यूईएफए प्लेअर अफ दी इअर’ को मनोनयनमा परेका हुन् ।
यूरोपीयन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले २०२२/०२३ सिजनमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा ३ खेलाडीकाे नाम सार्वजनिक गरेको हो ।
यूईएफएको प्राविधिक कमिटीले सिजनभर देश र क्लबका लागि गरेको प्रर्दशनलाई आधार मानेर सूची तयार पारेको जनाएको छ ।
च्याम्पियन्स लिग, यूरोपा लिग, यूरोपा कन्फेरेन्स लिग खेलेका क्लबका प्रशिक्षक, यूईएफए सदस्य राष्ट्रका प्रशिक्षक र यूरोपियन खेलकुद पत्रकार जूरीमा समावेश थिए ।
३ खेलाडीबाट यूईएफएले उत्कृष्ट एकलाई घोषणा गर्नेछ । यूईएफएले ३१ अगस्टमा नयाँ सिजनको समूह घोषणा गर्नेछ । सोही कार्यक्रममा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।