
काठमाडौं— म्यान्चेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित दर्ता गरेको छ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुलविरुद्ध ४–१ को एकपक्षीय जित हासिल गरेको हो ।
लिभरपुलका लागि खेलको १७औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो । जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले २७ औं मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गरेको थियो ।
त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो र अग्रतालाई कायम राख्दै अघि बढेको सिटीले ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्न सफल भयो ।
यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत् छ। तर उसले यो जितबाट ६९ अंकसहितको शीर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाव थपेको छ ।