News Griha :: न्यूजगृह
महिला विश्वकप फुटबल : इंग्ल्यान्ड फाइनलमा, स्पेनसँग खेल्ने

काठमाडौं— इंग्ल्यान्ड पहिलोपटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्टेडियम अस्ट्रेलिया सिड्नीमा बुधबार सहआयोजक अस्ट्रेलियालाई ३–१ ले निराश तुल्याउँदै इंग्ल्यान्डले उपाधिका लागि स्पेनसँगको भेट पक्का गरेको हो ।

इंग्ल्यान्डकी एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गर्दा अस्ट्रेलियाकी कप्तान सामन्था खेरले सान्त्वना गोल फर्काएकी थिइन् ।

खेलको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट प्रदर्शन गर्दै   सामन्था खेरले अस्ट्रेलियाको लागि गोल फर्काउँदै खेललाई बराबरीमा उभ्याएकी थिइन् ।

तर खेलको ७० औं मिनेटमा इंग्ल्यान्डकी लरेन हेम्पले गोल गर्दै पुनः आफ्नो टोलीलाई बढ्त दिलाइन् । यस्तै खेलको ८६ औं मिनेटमा एलेसिया रुसोले गोल थप्दै इंग्ल्यान्डको ३–१ को  जितलाई सुनिश्चित गराइन् ।

यसअघि ३ पटकसम्म सेमिफाइनल भन्दा अघि बढ्न नसकेको इंग्ल्यान्डले पहिलो पटक फाइनलको यात्रा गर्दा उपाधिका लागि आगामी भदौ ३ गते स्पेनसँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:२३
Weather Update