
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसँग बालुवाटारस्थित ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गर्न लागेको छ ।
स्रोतका अनुसार मंगलबार डा.भट्टराईसँग सीआईबीले सोधपुछ गर्न लागेको हो । डा.भट्टराईसँग सोधपुछ गरेर माधव नेपालसँग सोधपुछ गर्ने तयारीमा सीआईबी छ ।
सो जग्गा प्रकरणबारे पूर्व विशिष्ट व्यक्तिहरूमाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सीआईबीले डा.भट्टराई र नेपालसँग सोधपुछ कार्य अगाडि बढाएको हो ।
प्रधानमन्त्री हुँदा ललिता निवाससम्बन्धी अवाञ्छित निर्णय गरेको आरोप डा.भट्टराई र माधव नेपालमाथि छ । डा.भट्टराई २०६९ सालमा प्रधानमन्त्री थिए भने नेपाल २०६६ मा ।
डा.भट्टराईको कार्यकालमा मुख्यसचिव भएका लीलामणि पौडेलसँग सीआईबीले साेमबार आवश्यक सोधपुछ गरिसकेको छ ।