
काठमाडौं— महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत मंगलबारदेखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । मंगलबार स्पेन र स्वीडेनबीच खेल हुँदैछ । समूह चरणमा जापानसँग ४–० को हार बाहेक स्पेन प्रतियोगितामा बलियो देखिएको छ । स्पेनले साविक उपविजेता नेदरल्याण्ड्सलाई हराएर पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको हो ।
जारी विश्वकपमा सेमिफाइनलमा उक्लिएको टिममध्ये स्वीडेन सबैभन्दा माथिको दोस्रो वरीयतामा छ । स्वीडेनले क्वाटरफाइनलमा अपराजित टिम तथा २०११ को च्याम्पियन जापानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो । स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै नवौं संस्करण खेलेको छ ।
बुधबार दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।
महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० सम्म चीनमा भएको थियो । दोस्रो १९९५ जुन ५ देखि १८ सम्म स्विडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका, चौथो २००३ सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो ।
पाँचौं संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३० सम्म चीन, छैटौं २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौं २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौं २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो ।