
काठमाडौं— नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ परेका ‘सक्कली’ डाक्टर रिहा भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महोत्तरी घर भएका डा रञ्जितकुमार यादवलाई काठमाडौंबाट पक्राउ गरेको थियो । यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको सीआईबीका एसपी नवराज अधिकारीले बताए । सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो ।
शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् । यादव पनि रिहा भएपछि अब ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।
सीआईबीको हिरासतमा शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, डा. मनित चौधरी र डा. पुनम थापा चौधरी छन् ।