लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्छ । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्लीगल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ । २०७२ सालको
महाभूकम्पले क्षति पुर्याएका ती घरहरूको अझै स्तरोन्नति हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू टन्न पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरूको जमात कम छैन । काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरूमा बस्नेहरू यो क्षेत्रमा छ्यापछ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका टेकोले अड्याइएका काठमाडौंका बस्तीहरूका घरका तस्बिरहरू ।