News Griha :: न्यूजगृह

तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ ।

माघे संक्रान्ति नजिकिएसँगै तरूल किन्‍नेहरूको कालिमाटी तरकारी बजारमा भिड लागेको छ । पुस २५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार किलो तरुल आयात हुँदै आएको थियो ।

तरुलको उत्पादन र आयात बढेसँगै मूल्य सस्तिएको छ । समितिका अनुसार शुक्रबार तरुल प्रतिकिलो अधिकतम ८० रुपैयाँ छ । एक साताअघि प्रतिकिलो ९० रुपैयाँ थियो ।

शुक्रबार कालीमाटीमा भेँडे खोर्सानी अधिकतम प्रतिकिलो ८०, पिडाँलु ९०, बकुला सिमी ९०, रातो आलु ४५, सेतो आलु ४०, स्थानीय काउली २०, लोकल बन्दा २५, नरिवल बन्दा २५ र तराईको बन्दा कोबी २०, लाम्चो भन्टा ३५, डल्लो भन्टा ४०, मटरकोशा ९०, घिउ सिमी ६०, तिते करेला १००, लौका ५०, भिण्डी १००, बरेला ४० रुपैयाँ प्रतिकिलो छ ।

सखरखण्ड ८०, डल्ले च्याउ ३३०, कन्य च्याउ ८०, ब्रोकाउली ५० र काँक्रा ९० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

सबै तस्बिर: रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०७:३६
Weather Update