मुस्ताङ नेपालको मरुभूमिका रूपमा परिचित छ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ । मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ । जोमसोमबाट कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छुसाङ हुँदै समर, स्याङ्वोचे, घमी, गिलिङ, चराङ हुँदै लोमान्थाङ पुगिन्छ । यो बाटो पदयात्रामा रुचि हुनेहरू जोमसोमबाटै हिँड्छन् । पर्खालले घेरिएको बस्ती हो– लोमान्थाङ । यसलाई स्थानीय उपल्लो मुस्ताङ भन्छन् ।
लोमान्थाङ परम्परागत संस्कृतिको ऐतिहासिक थलो हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र रमणीय दृष्यका अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू लोमान्थाङ पुग्छन् । यो प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षण भरिएको छ । यहाँ स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरूले झनै आकर्षण थपेको छ । लोमान्थाङलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । यहाँ बाह्य पर्यटक जाँदा अनुमति लिएर मात्रै जान पाउँछन् । त्यस्तै, बढी शुल्क तिर्नुपर्ने हुन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने नियम छ । लोमान्थाङ भन्दा माथि लागेपछि पुगिन्छ, दशगजा क्षेत्र । त्यो चाँहि हो नेपाल र चीनको सिमाना कोरला ।
तस्बिरहरू : रश्मिला प्रजापति र महेश्वर खड्का