नेपालमा ठूला-साना गरी करिब २०० गढी छन् । ती सबैका आआफ्नौ महत्त्व छन् । त्यस हिसाबले पनि मकवानपुरगढीको महत्त्व फरक छ । मकवानपुरगढीमा अवस्थित दरबारमा प्रयोग गरिएका शिलाहरुले थप सौन्दर्यता प्रदान गरेको छ । इसं १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा बने । मकवानपुरगढीलाई राजधानी बनाएर सेन वंशका सात पुस्ताले मकवानपुरमा शासन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् ।
सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुरगढी विसं १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । उनलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले पराजित गरेका थिए । नेपाल एकीकरणमा मकवानपुर गढीको महत्त्वपूर्ण भूमिका देखिन्छ । नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए । पृथ्वीनारायणको फौजले २१ अगस्ट १७६२ मा गढीमा आक्रमण गरेको थियो । काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो ।
१८१९ भदौ ९ मा पृथ्वीनारायण शाहको फौज विजयी भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँसहित भागेर बंगाल पुगेका थिए । सेन त्यहाँका नवाव मिरकासिमसँग सहयोग माग्न बंगाल पुगेका थिए । दिगबन्धन सेनले मिरकासिमको सहयोगमा मकवानपुरगढी नियन्त्रणमा लिने उद्देश्य अनुसार पुनः आक्रमण गरे ।
दिगबन्धु सेनले मिरकासिमको सहयोगमा दुई हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ माघ १० मा आक्रमण गरेका थिए । मकवानपुरगढीमा उक्लिने क्रममा शिखरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो । त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए । गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियारसहित सघाएका थिए । उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका एक हजार ७०० सैनिक मारिएका थिए भने अन्य भागेका थिए । नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाले नियन्त्रणमा लिएको थियो ।
मकवानपुरगढी भित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने मान्यता छ । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उनी त्यहाँसम्म पुगेर आउँथे । कृष्ण राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखेको किम्वदन्ती रहेको छ ।