News Griha :: न्यूजगृह

सबैभन्दा छिटो विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सफल आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेञ्जेन लामा शेर्पा शनिबार नेपाल फर्किएका छन् ।

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेञ्जेन लामा शेर्पाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू तीन महिनामा सफल आरोहण गरेर नयाँ रेकर्ड कायम बनाएका हुन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा नेपाल पर्वतारोहण संघका पदाधिकारीहरूले फूल माला र बाजाका साथ स्वागत गरेका थिए । उनीहरूको सम्मानमा अहिले नेपाल पर्यटन बोर्डमा विशेष कार्यक्रमको आयोजना भइरहेको छ ।

यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा उक्त रेकर्ड बनाएका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम २, गाशरब्रम १, ब्रोडपिक र माउण्ट केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:५७
Weather Update