News Griha :: न्यूजगृह
पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
फाइल तस्बिर

गोरखा— केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको एक बस्ती उच्च जोखिममा परेको छ ।

जिल्लाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर उच्च जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए ।

पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनले बताए ।

‘पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ,’ अध्यक्ष लामाले भने, ‘घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।’

पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ । थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउन ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:०१
Weather Update