
म्याग्दी— जिल्लाको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजार पुग्छिन् ।
प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै तरकारीलाई बोकेर बजारसम्म पुर्याएर बिक्री गर्ने उनको दैनिकी बनेको हो ।
उनले मौसमअनुसार तरकारी खेती गर्दै आएकी छन् । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उनीसँग ।
‘आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र ? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो,’ कार्कीले भने, ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ, यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।’
कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आएकी हुन् । बेनी बजारमा उनलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाउँछिन्, उनी ।
प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर दुई हजारदेखि तीन हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछिन् । उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर दुई लाख बढी कमाइ भएको उनले बताइन् ।
मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताउँछिन् । ‘दैनिक थोरै भनेको दुई हजार आम्दानी हुन्छ, प्रायः तीन हजार पाँच सयसम्म भइरहन्छ, बर्खे तरकारी बेचेर दुई लाख ६५ हजार कमाएछु,’ उनले भनिन् ।
तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाएकी छन् । उनका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा तरकारी खेती गर्छन् । चन्द्रबहादुर जिल्लाकै अगुवा कृषकमा गनिने गरेका छन् ।