बागलुङ— बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ ।
बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।
बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ । हरेलोको दिन खेतमा धुप सहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । पूजापछि यी परिकार खुर्किएको काठको टुक्रामा राखी मकैको खोस्टामा बाँधेर पोको पारी काठको लिङ्गो बनाई त्यसमा झुन्ड्याएर खेतमा राखिदिने प्रचलन छ । यसरी गाडेका वस्तुले रोग र किराबाट खेती जोगाउने मान्यता छ । त्यसपछि धुप बालेर खेत तथा तरकारीका झालमा धुपाउने गरिन्छ । हरेक वर्ष भदौको पहिलो मङ्गलबार यसरी गरिने पूजा हरेलो पूजा हो र यसलाई स्थानीय भाषामा हरेलो गर्ने पनि भन्ने गरिएको छ ।
बागलुङमा पछिल्लो समय हरेलो पर्व मनाउने अर्थात् हरेलो गर्ने चलन घट्दै गएकाले यो परम्परालाई जोगाइराख्नुपर्ने बताउँछन् ज्योतिष पण्डित विष्णुप्रसाद पाठक । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको ऐतिहासिक तथ्य भेटिन्छ । खेतीपाती सकेपछि खेतीमा कीराफट्याङ्ग्रा नलागोस् र बाढीपहिरो नआओस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयूँपाटाका भवानीप्रसाद रिजालले बताए ।
परम्परागतरुपमा मनाइने हरेलो पर्व विस्तारै लोप हुन लागेकाले यस परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न गत वर्षदेखि यहाँ हरेलो महोत्सव गर्ने गरिएको छ । हरेलोका दिन भैरवस्थानमा पनि पूजा हुने र यहाँ परम्परागत मेला पनि लाग्ने भएकाले यो परम्परालाई निरन्तरता दिन यसै दिन मेलाको आयोजना गर्न थालिएको यहाँका स्थानीय एवं बागलुङ नगरपालिका वडा नं १२ का पूर्वअध्यक्ष गुरुदत्त पाठक बताउँछन् ।
यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । बलेवा क्षेत्रमा नै पर्ने संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथि बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दह क्षेत्र र जैमिनीको हाँडिकोट लाई समेत यहाँबाट जोड्न सकिने भए पनि बागलुङको पर्यटन बत्तीमुनिको अँध्याराको अवस्थामा रहेको र सम्भावनाका तुलनामा यसको प्रचार गर्न नसकिएको प्रसङ्ग उल्लेख गर्दै धार्मिक पर्यटनको विस्तार र विकासका लागि मेला महोत्सवको आयोजना गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठक बताउँछन् ।
नेपालमा आउने करिब आधा पर्यटक पोखरा आउने भए पनि पोखरा पुगेकामध्ये अतिन्यून पर्यटकमात्र बागलुङ पुग्ने गरेका प्रसङ्ग उल्लेख गर्दै सदस्य पाठकले गण्डकी प्रदेशको सुप्रसिद्ध देवस्थल कालभैरवमा यस प्रदेशका धार्मिक तथा आन्तरिक पर्यटक ल्याउन नसकिएको अवस्थामा यस्ता मेला महोत्सव गरी यहाँको स्थानीयताको देशव्यापी प्रचारप्रसार गर्न सकिएमा जिल्लाको मात्र नभएर गण्डकी प्रदेशकै पर्यटकीय विकासमा टेवा पुग्ने बताए।
यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। गतवर्षबाट सुरु गरिएको यस मेलालाई निरन्तरता दिन लागिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।
कालभैरवको दर्शन तथा पूजाले घरपरिवारको दुःख नास हुने र सुखशान्ति प्राप्त हुने विश्वास छ । सदरमुकाम बागलुङ बजारदेखि १७ किलोमिटर दूरीमा भैरवस्थान मन्दिर पर्छ । बजारदेखि यहाँ सवारीसाधनमा एकदेखि डेढ घन्टामा र पैदल हिँडेर बढीमा तीन घन्टामा पुग्न सकिन्छ । साविकका छ वटा गाविसलाई १८ औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटमा रहेका कालभैरवले छवटै गाविसका किसानलाई रक्षा गर्छन् भन्ने मान्यता पनि रहिआएको छ ।
बलेवामा बाइसेचौबिसे राजाका पालामा १८४२ सालमा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्य बताउँछन् । यसरी यहाँ मन्दिर स्थान भएदेखि नै करिब दुई सय वर्षअघिदेखि चलेका विविध परम्परा र संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम नै छन् ।