News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकिया पुत्र रोहनलाई सीआईबीले किन लिएन जिम्मा?

काठमाडौं— करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकियालाई केन्द्रीय अनुसन्धान ब्युरोले फिर्ता पठाएको छ ।

शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए । पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । प्रहरीले साउन १० मा राकेशको घरमा छापा मारेको थियो । यद्यपि राकेशले रातोपाटीसँग कुरा गर्दै आफ्नो घरमा छापा नमारिएको दाबी गरेका थिए ।

रोहनबारे थाहा नभएको भन्दै ब्युरोका अधिकृतहरूले शुक्रबार उनलाई जिम्मा लिएनन् । राजस्व अनुसन्धान विभागको पत्रको आधारमा रोहनको पासपोर्टलाई अध्यागमन कार्यालयले कालो सूचीमा राखेको थियो । दिल्लीबाट नेपाल फर्केका अडुकियालाई कालो सूचीको आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेर राजस्वमा बुझाएको थियो ।

राजस्व अनुसन्धान विभागका कर्मचारीले १ सय किलो सुन सम्बन्धी फाइल सीआईबीमा पठाएको भन्दै अडुकियालाई सीआईबीको जिम्मा लगाउन महाराजगञ्जमा पठाए । तर, ब्युरोले जिम्मा नलिएपछि उनलाई अध्यागमन विभाग मै राखिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:१२
Weather Update