News Griha :: न्यूजगृह
गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला 

गोरखा— गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा शुक्रबार अजिङ्गर फेला परेको छ ।

करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका  फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले जानकारी दिए ।

‘तीन वटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो’, वन अधिकृत गोपालीले भने, ‘यो संरक्षित जनावरअन्तर्गत पर्दछ ।’ कच्ची सडक नजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताए ।

‘स्थानीयवासीले जानकारी दिएपछि वडा अध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर भेटिएको भनेर कार्यालयमा खबर गर्नुभयो’, वन अधिकृत गोपालीले भने, ‘कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो ।’

उनले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताए । 

उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छोड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २१:५५
Weather Update