News Griha :: न्यूजगृह
सभामुख घिमिरे भन्छन्— संसद् अवरोधले कानुन निर्माणमा समस्या भयो

काठमाडौं— सभामुख देवराज घिमिरेले पछिल्लो समय भइरहेको संसद् अवरोधले नियमित कानुन बनाउन समस्या भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोधका कारण कैयौं विधेयकहरू छलफल र नियम कानुन बनाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने,‘केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरूमाथि छलफल भएका छैनन् । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं । माननीयज्यूहरुले संसद् अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’

उनले संसद्ले पछिल्ला वर्षहरूमा नियमित काम गर्न नपाएको भन्दै अघिल्लो संसदमा पनि संसद् विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गरे  ।

उनले मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको बताए  । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:४३
Weather Update