News Griha :: न्यूजगृह
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार

काठमाडौं— कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।

युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौं ल्याएको हो ।

पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहानले आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पुर्‍याएका थिए ।

पीडित महिलाले आफूलाई ब्यूटिसियनसँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गरिन् ।

‘घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ’, पीडित महिलाले भनिन्,‘त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाइ घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो ।’

पीडित महिलाले मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्धार गर्न भन्दै अनुरोध गरेकी थिइन् । सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्युरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानूनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्धारका लागि पहल नगरेको उनको भनाइ छ ।

उद्धार गरिएकी महिलालाई स्वदेशी पर्कनका लागि उनकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:५९
Weather Update