
बैतडी— दशरथचन्द नगरपालिका— १० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्या प्रकरणमा चारजना कारागार चलान भएका छन् । न्यायधीश जयानन्द पनेरुको एकल इजलासले पक्राउ परेका १६ मध्ये चारजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । यस्तै छ जनालाई धरौटीमा रिहा गर्न र छ जनालाई साधारण तारेख छाड्न अदेश भएको थियो ।
गत १३ फागुनमा वनभोज मनाउन दोगडाकेदार गाउँपालिका— ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए । राष्ट्रिय अनुसन्धान बझाङमा सहायक सूचक पदमा कार्यरत बुडाल बिदामा घर गएका थिए ।
बुडाल नदीमा मृत भेटिएपछि पत्नी अनिषाले १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। बुडालको शव भेटिएको स्थाननजिकै विस्फोटक पदार्थसमेत फेला परेको थियो ।
नारायण सिंह ऐरी (मृतकका भिनाजु), अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्र सिंह रावललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
यस्तै दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्रीलाई कर्तव्य ज्यान मुद्दामा जनही एक लाख ५० हजार र विस्फोटक पदार्थ कसूर मुद्दामा जनही ५० हजार गरेर दुई लाख र गणेश सिंह कार्की बिस्फोटक पदार्थ कसुर मुद्दामा १ लाख ५० हजार धरौटीमा रिहा भएका छन्। नवीनसिंह ठगुन्ना र श्याम सिंह ऐरी कर्तव्य ज्यान मुद्दामा जनही ५० हजार र विस्फोटक पदार्थ कसुर मुद्दामा ५० हजार गरी जनही एकलाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
मोहनसिंह ठगुन्ना, केशव सिंह रावल,भुवनराम लुहार,कमलसिंह कार्की, टेकराम तिरुवा र मोहनसिंह महता साधारण तारिखमा रिहा भएका छन् ।