
बागलुङ— करिब ३४ करोड रुपैयाँ खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन अलपत्र परेको छ ।
क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमा त्रुटि रहेको पाइएको छ ।
पाँच वर्षअघिदेखि सुरु भएको आयोजना ९० प्रतिशत काम सम्पन्न भएको छ । यस क्रममा परीक्षणकै क्रममा समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारबासीले सहज ढंगले खानेपानी पाइने आशा गरेका थिए ।
भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा छ स्थानमा पाइप फुस्किएको छ । परीक्षण असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको छ ।
पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ ।
खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको स्थानीय रुद्र महतले बताउँछन् ।
आयोजनामा अहिले डीआई पाइप प्रयोग गरिएको छ । जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट कङ्क्रिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।
बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना गरे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डीआई पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताए ।
हाल खानेपानी ल्याइरहेको मुहानको पानीमा समेत पाइप फुस्कने गरेको र लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मतसम्भार गर्नसमेत समस्या पर्ने उनको भनाइ थियो ।
‘लिफ्ट आयोजना सम्पन्नताको चरणमा पुगिसकेको थियो, परीक्षणका लागि पानी सञ्चालनसमेत गर्यो, लिफ्ट चलाएको पाँच–दश मिनेटमै पाइप लाइन जोडेको स्थानबाट वासरसहित फुस्किएर क्रङ्क्रिटको पोल नै भत्काउँछ,’ शर्माले भने, ‘छ पटकसम्म पाइप फुस्केपछि हामीले पूर्वानुमान गरेजस्तै भयो, हाम्रो माग स्टिल पाइप थियो तर डिजाइनमा भएको पाइप निर्माण व्यवसायीले हाल्नुभयो, अहिले उक्त पाइप लाइनबाट पानी चल्न छोड्यो ।’
उपभोक्ता संस्थाको तदर्थ समितिका अध्यक्ष जयराम भारीले डीआई पाइप पटक–पटक फुस्केका कारण वैकल्पिक रूपमा सानो जीआई पाइप जोडेर खानेपानी रातमाटा पुर्याइएको जानकारी दिए ।
बागलुङकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइप लाइनमा त्रुटि देखिँदा आम उपभोक्तामा पुनः निराशा छाएकाले वैकल्पिक रूपमा सानो पाइपबाट भए पानी वितरण गर्न थालेको भारीले जानकारी दिए ।
विं.सं. २०७५ असार ३१ गते कन्काइ जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीले चारपटक म्याद थप्दासमेत आयोजना स्थलको भौगोलिक कठिनाइ र कोरोना त्रासका कारण निर्माणमा ढिलाइ भएको दाबी गर्दै आएको छ ।
लिफ्ट आयोजनाको लागत अहिले बढेर ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताउँछन् ।
अधिकारीले विभागले दिएको डिजाइनअनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दासमेत पाइप लाइन पटक–पटक फुस्किँदा पानी माथि पुर्याउन नसकिएको बताए ।
संघीय खानेपानी तथा ढल व्यवस्था आयोजना कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले लिफ्ट खानेपानी आयोजनाको पाइप लाइनमा देखिएको समस्याका विषयमा अध्ययन भइरहेको बताए ।