News Griha :: न्यूजगृह
युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जनलाई पक्राउ गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-४ घर भई हाल काठमाडौंको कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई हाल काठमाडौं-३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी रहेका छन् ।

यस्तै, गोरखाको गण्डकी गाउँपालिका-६ घर भई हाल काठमाडौँ-१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेका अर्यालले सरोज गिरीलाई क्रोएसिया पठाइदिने भन्दै ५० हजार, चौधरीले रुपक बुढाथोकीलाई फ्रान्स पठाइदिने भन्दै दुई लाख ५५ हजार रुपैयाँ र मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै दुई लाख ५६ हजार रपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:४४
Weather Update