
काठमाडौं— प्रतिनिधि सभा बैठक बस्दैछ । नयाँ बानेश्वरमा १ बजे उक्त बैठक बस्नेछ । आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
बाधा अडकाउ फुकाउ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नेछन् ।
शिक्षामन्त्री अशोक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरु सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।













