
काठमाडौं— नेपाली सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’बाट सम्मान गरिएको छ । उनलाई अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले सम्मान गरेका हुन् ।
अमेरिकाको विदेश मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदविरुद्ध साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।
सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील हुँदै आएकी थिइन । सोही कामका कारण उनलाई उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।
सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो ।
उनीसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियान्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन् ।













