News Griha :: न्यूजगृह
मनसुन सुरु भएसँगै ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता
फाइल तस्बिर

काठमाडौं— गत जेठ ३१ गतेदेखि सुरु भएको मनसुनले आजसम्म ५० जिल्ला प्रभावित भएका छन् । 

गृह मन्त्रालयका अनुसार बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् । घटनामा ३१ जना बेपत्ता छन् । 

प्रभावित भएका जिल्लाबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए ।

उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । उक्त घटनामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै, बेपत्ता हुनेहरू छ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए ।

विपदमा परी कूल १३० घर पूर्ण रुपमा क्षति भएका छन् । एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । 

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:५६
Weather Update