News Griha :: न्यूजगृह
इराकमा रहेका नेपालीको समस्याबारे परराष्ट्रमन्त्री साउदकाे ध्यानाकर्षण

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । 

उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएएको उपाध्यक्ष शर्माले जानकारी दिए ।

यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रमस्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ ।

शर्माले भने, ‘मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’

समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।

उक्त भेटमा एनआरएनए आईसीसी उपाध्यक्ष शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, पूर्वउपाध्यक्ष टिबी कार्की, यूरोप संयोजक सन्तोष भट्टराई, एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०६:५२
Weather Update