
कठमाडौं— जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस,बाग्मती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रहनेछ ।
कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढीपहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।